बाँसबारी छाला जुत्ता प्रकरणमा सीआइबीले लियो विनोद चौधरीको बयान

बाँसबारी छाला जुत्ता प्रकरणमा सीआइबीले लियो विनोद चौधरीको बयान


ग्लोब नेपाल
189
Shares

काठमाडौं। बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उद्योगपति विनोद चौधरीको बयान लिएको छ । चौधरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य समेत हुन् ।

२०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरले कपडाका जुत्ता उत्पादन गर्ने भन्दै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो ।

त्यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयर धनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको आरोप छ ।

सो प्रकरणमा अनुसन्धानका लागि उद्योगपति एवम् सांसद चौधरीको बयान लिइएको सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सीआइबीले सरकारी वकिलको कार्यालय काठमाडौँका अधिकारीहरूको रोहबरमा चौधरीको बयान लिएको हो ।

बुधबार साँझ मात्रै सीआइबीले चौधरीमाथि छानबिन भइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्राचार गरी जानकारी गराएको थियो ।

यसअघि चौधरीका भाइ अरुण पक्राउ परेका थिए । कारखानाको जग्गा हिनामिनाको आरोपमा माघ १८ गते पक्राउ परेका अरुणलाई अर्को दिन काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा छोडिएको थियो ।