काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त चार सदस्य नियुक्त गरेको छ । आयोगको रिक्त ४ सदस्य पदमा संगीता सिंह, कुसेन्द्रबहादुर महत, शिवराज अधिकारी, अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गरेको हो । भण्डारी ११ गते देखि अनिवार्य अवकाशमा जाँदै थिए ।
बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना गरी दश जना पर्वतारोहीहरूलाई सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेको छ।
सरकारले वरिष्ठ सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा कर्णाली प्रदेशका कायम मुकायम प्रमुख सचिव रहेका पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिको ५ गतेको बैठकले पहिलो नम्बरमा चूडामणि पौडेल दोस्रो नम्बरमा डा. हरि लम्साल र तेस्रो नम्बरमा केदारनाथ शर्माको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस पौडेललाई सरकारले सचिवमा बढुवा गरेको हो ।


प्रतिक्रिया