सूर्यदर्शन सहकारीका बचतकर्ताले दिए राज्य व्यवस्था समितिमा निवेदन

सूर्यदर्शन सहकारीका बचतकर्ताले दिए राज्य व्यवस्था समितिमा निवेदन



काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रकम फिर्ताका लागि पहल गरिदिन माग गर्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् ।

समितिका सभापति रामहरि खतिवडालाई भेटेर बिहीबार बचतकर्ताहरूले रकम फिर्ताका लागि पहल गरिदिन माग गरेका हुन् । उनीहरूले सहकारीले १८ हजार सात सय जना बचतकर्ताको करिब एक अर्ब ३५ करोड रुपैयाँ फिर्ता नगरेको गुनासो गरेका थिए ।

रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्‍चालक गितेन्द्रबाबु राई (जिबी राई) पक्राउ पर्न नसकेको भन्दै उनीहरूले राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा ३० औं करोड रुपैयाँ लगानी भएको देखिए पनि यस विषयमा आर्थिक, नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरु मौन बनेको भन्दै उनीहरुले आफूहरुले न्याय पाउनुपर्ने बताएका छन् ।

पीडितहरुले १९ जनालाई किटानी जाहेरी दिएको भए पनि हालसम्म १४ जना पक्राउ पर्न नसकेको बताएका थिए ।

२०८० माघ २२ गते पुरक जाहेरीमार्फत् हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरिएको भए पनि छानबिन नभएको बताइएको छ ।

सभापति खतिवडाले सो निवेदन उपर उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका लागि पहल गर्न सरकारलाई आग्रह गरिने बताएका छन् ।