गृहमन्त्री लामिछाने दोषी भए सरकारबाट बाहिरिनुपर्छ : उपप्रधानमन्त्री महासेठ

गृहमन्त्री लामिछाने दोषी भए सरकारबाट बाहिरिनुपर्छ : उपप्रधानमन्त्री महासेठ



जनकपुरधाम । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री महासेठले छानबिनमा लामिछाने दोषी देखिएमा सरकारबाट बाहिर जानुपर्ने पनि बताए । सहकारी प्रकरणमा लामिछाने जोडिएकोले संसदीय छानबिन गर्नुपर्ने माग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको छ ।

‘जहाँ हाम्रो उपप्रधानमन्त्री रवि लामिछानेजीको कुरा छ, त्यो कुरा अहिले जुन प्रकारले नेपाली कांग्रेसले राजीनामाको माग गरेको छ । त्यो आफैँमा गलत कुरा हो । उहाँहरुको माग संसदीय छानबिन समिति हो, हिजो गठबन्धन चेन्ज हुँदा उहाँलाई कांग्रेसले प्रधानमन्त्री बनाउन सक्ने तर उहाँहरुको अफर स्वीकार नगर्दा र यो सरकारमा आएर गृहमन्त्री बन्दा अपराधी हुने, ठग हुने कुरा गलत हो,’ उनले भने, ‘छानबिन जारी छ, जो पनि दोषी भए भने त सरकारबाट बाहिर जानैपर्छ । कुनै चान्स छैन, जो सुकै होस् ।’

उनले भौतिक पूर्वाधारको विकास गर्दै देशलाई समृद्धितर्फ लैजाने बताए । उनले भने, ‘भौतिक पूर्वाधारलाई जसरी हुन्छ, राम्रो गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान सक्दैन । सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित चाहे त्यो हुलाकी राजमार्ग होस्, महेन्द्र राजमार्ग होस् । मदन भण्डारी राजमार्ग जुन होस्, उत्तर दक्षिण धेरै रोडहरु सम्पन्न गर्ने लक्ष्य लिएर यो सरकार अघि बढेको छ ।’

उनले यो गठबन्धन लामो समयसम्म चल्ने पनि बताएका छन् ।