अनुसन्धान अधिकृतहरूसँग भक्कानिए महरा

अनुसन्धान अधिकृतहरूसँग भक्कानिए महरा


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नियन्त्रणमा रहेका छन् । उनी चैत ५ मा रुपन्देहीबाट पक्राउ गरेका हुन् ।

सीआईबीले महरासँग बयान लिइरहेको छ । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबारबाट जिल्ला सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइरहेका थिए ।

०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन् । भेप प्रकरणमा बयान दिँदा महरा भक्कानिएका छन् ।

अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘बयानको क्रममा उहाँ भक्कानिनुभएको छ ।’ महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या रहेको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुन: मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा महरालाई अनुसन्धान गरेर ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्वसभामुख कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको छ । भेप प्रकरणमा यसअघि प्रहरीले संगठित सुन तस्करी गरेको कसुरमा अनुसन्धान गरेको थियो । सो मुद्दामा महरालाई पनि प्रहरीले ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्नसक्छ ।