काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने तयारी गरेको हो ।
ब्यूरोले महरालाई सरकारी वकिलसँग हाजिरी जमानीमा छाड्न सहमति मागेको छ । स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिर जमानीमा छाड्न अनुसन्धान अधिकृतले जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीसँग सहमति मागेका हुन् ।
जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले सो मुद्दा हेरिरहेका छन् । कटुवालले स्वीकृति दिएमा महरा हाजिर जमानीमा छुटछन् । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनमा महरा संलग्न भएको आशंकमा सीआईबीका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेको छन् ।
भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । महरामाथि सीआईबीका डीएसपी सुन्दर तिवारी नेतृत्वको टिमले अनुसन्धान गरिरहेको छ ।
महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया