सरकारको नाममा आयो बाँसबारीको १० रोपनी जग्गा

सरकारको नाममा आयो बाँसबारीको १० रोपनी जग्गा



काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ । मालपोत ऐन २०३४ अनुसार जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हाे ।

शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन गृहमन्त्रालयले केही दिनअघि निर्देशन दिएकाे थियाे । केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा जग्गा ल्याइएको जानकारी दिइएको हो ।

बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा २०४४ भदौ ६ मा ६ रोपनी र मंसिर १८ मा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो ।

यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । त्यसक्रममा चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी लगायतलाई १८ फागुनमा पक्राउ समेत गरेको थियो, जो अदालतको आदेशमा छुटे । सीआईबीको अनुसन्धान भने जारी छ । बिहीबार मात्र नेपाली कांग्रेसका सांसद एवं उद्योगी विनोद चौधरीसँग समेत बयान लिइएको थियो ।