रञ्जितालाई प्रधानमन्त्री प्रचण्डले भने– सरकारमा आउनुस्, सहकार्य गरौँ, रेशम बेखुसी

रञ्जितालाई प्रधानमन्त्री प्रचण्डले भने– सरकारमा आउनुस्, सहकार्य गरौँ, रेशम बेखुसी


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा सामेल हुन प्रस्ताव गरेका छन्।

विश्वासको मत दिएको नाउपालाई सरकारमा सामेल हुन प्रधानमन्त्री दाहालले प्रस्ताव उच्च स्रोतले जानकारी दिएको छ । शनिबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री दाहालले नाउपालाई सरकारमा सामेल भएर संघदेखि प्रदेश सरकारसम्मै सहकार्य गरेर जान आग्रह गरेका छन्।

एक मन्त्रालय दिएर नाउपालाई सरकारमा सामेल गराउन प्रधानमन्त्री दाहाल तयार भएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘नयाँ गठबन्धनप्रति तपाईँहरूको धारणा के हो ? विगतमा सहकार्य गरेका हौँ। सरकारमा सामेल हुनुहोस्। अझै सहकार्य गरेर जाऔँ,’ ।

नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच नयाँ राजनीतिक समीकरणका विषयमा तीव्र मतभेद छ। दाहाललाई विश्वासको मत दिने रञ्जिताको निर्णयमा रेशम खुसी छैनन्। त्यस्तै पार्टी केन्द्रको निर्देशन अवज्ञा गरी रेशमले प्रदेशमा कांग्रेस नेतृत्वको सरकार विस्तारमा नाउपाका सांसद सहभागी गराएका छन्।

सत्ता गठबन्धन फेरबदलसँगै निर्वाचन आयोगले नाउपाको अध्यक्षमा रेशमलाई अयोग्य ठहर गर्दै रञ्जितालाई पुनःस्थापित गरेपछि रेशम कांग्रेससँग सहकार्य गरेर जाने पक्षमा देखिएका छन । प्रधानमन्त्री दाहालसँगको छलफल सकारात्मक भएको छलफलमा सहभागी नाउपाका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौराले जानकारी दिएका छन ।