मिसन ८४ लाई सफल बनाउन नयाँ समीकरण बनाएका हौँ: एमाले महासचिव पोखरेल

मिसन ८४ लाई सफल बनाउन नयाँ समीकरण बनाएका हौँ: एमाले महासचिव पोखरेल


ग्लोब नेपाल
54
Shares

काठमाडौं । एमाले महासचिव शङ्कर पोखरेलले मिसन–०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समीकरण निर्माण गरिएको बताएका छन । उनले मिसन ०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको सङ्कल्प भएको उल्लेख गर्दै त्यसबाट विचलित नहुने पनि घोषणा गरेका छन ।

आज (शनिबार) पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समीकरणको यात्रा सुरु गरिएको पनि स्पष्ट पारेका छन । महासचिव पोखरेलले यसअघिको सत्तारुढ गठबन्धनले पार्टीमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य सुरु भएकाले त्यसले पार्टीको मिसन ०८४ लाई सफल बनाउन आधार तयार पारेको तर्क समेत गरेका छन ।

उनले भने, ‘अब सकारात्मक दिशातर्फ मुलुकलाई लैजानुपर्दछ भन्ने मान्यताको आधारमा हामीले यो यात्रा आरम्भ गरेका छौँ । कतिपयले भन्ने गर्नुभएको छ–होइन हाम्रो उद्देश्य मिसन ०८४ भनेर भनिरहेको एमाले आज सरकारमा सामेल भयो । कतै एमालेको मिसन ०८४ रोकिएको हो कि भनेर प्रश्न गर्ने गर्नुहुन्छ । म तपाईँहरुको बिचमा के भन्न चाहन्छु भन्दा खेरी मिसन ०८४ मुलुकको भविष्य निर्माणको एउटा सङ्कल्प हो ।

त्यसबाट एमाले विचलित हुने प्रश्नै उठ्दैन । हामीले त भनिरहेका छौँ–यो सहकार्यले मिसन ०८४ लाई बलियो बनाउँदछ भन्ने मान्यता र विश्वासको जगमा हामीले नयाँ सहकार्यको यात्रा आरम्भ गरेका छौँ । किनकि हाम्रो यात्रामा हाम्रा विरुद्धको घेराबन्दी तोड्नु आवश्यक थियो । चक्रब्युहलाई तोड्न आवश्यक थियो ।

हामीले हाम्रा विरुद्धको घेराबन्दीलाई, हाम्रा विरुद्धको चक्रब्युहलाई तोडेर हामी बाहिर आएका छौँ । सहकार्यको एउटा नयाँ आधार तयार गरेका छौँ । जसका आधारमा हामी मिसन २०८४ लाई सफल पार्न चाहन्छौँ । र मुलुकको भाग्य र भविष्यलाई उज्यालो दिशातर्फ अगाडि बढाउन चाहन्छौँ । निराश बनेका जनतामा आशा जगाउन चाहन्छौँ ।’