ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल



काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले छलफल सुरु गरेका हुन् । ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाइएको छ ।

छलफलमा बोल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी भइरहेको बताए । ‘सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्छाैँ,’ उनले भने ।

उनले व्यापार व्यवसाय सञ्चालनका लागि व्यवसायी र स्थानीयवासी सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिने बताए । व्यवसायीले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन नपाउने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले अहिलेको भन्दा आपराधिक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोहीअनुसारको सुरक्षा प्रणाली विकास गरिने उल्लेख गरे । व्यवसायीले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुने गरी ध्वनि प्रदूषण गर्न नपाउने उनको भनाइ थियो ।

छलफलमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग परिषद्ले राख्दै आएको बताए । ‘परिषद्ले ठमेललाई कसरी व्यवस्थित र अपराधमुक्त बनाएर सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा पटकपटक सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ,’ उनले भने ।

दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ सै घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त भएको बताए । दरबार मार्गलाई २४ सै घण्टा खुला गरी ‘नाइट वाक’ क्षेत्र बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।