गण्डकी सरकारबारे कांग्रेस र नेसपाबिच छलफल

गण्डकी सरकारबारे कांग्रेस र नेसपाबिच छलफल



काठमाडौं । गण्डकी प्रदेश सरकारका सन्दर्भमा नेपाली कांग्रेस र नेपाल समाजवादी पार्टी (नेसपा) का नेताहरूबिच छलफल भएको छ । बुधबार बिहान देउवा निवास बुढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला र नेसपाका अध्यक्ष बाबुराम भट्टराईबिच भेटवार्ता भएको हो ।

गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । कांग्रेसका २७, राप्रपाका २, एकीकृत समाजवादीबाट बाहिरिएर स्वतन्त्र हैसियत मगेका दीपक मनाङे र माओवादी चुनाव चिह्नबाट जितेका नेसपाका फणीन्द्र देवकोटाको समर्थनमा बहुमत जुटाउने मुख्यमन्त्री पाण्डेको रणनीति छ ।

नेसपा अध्यक्ष भट्टराईले गण्डकीमा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने सन्दर्भमा सकारात्मक जवाफ दिएको बताइएकाे छ । मुख्यमन्त्री पाण्डेलाई मनाङे र देवकोटाले साथ दिने देखिए पनि गण्डकी सत्ता समीकरणमा निर्णायक शक्ति राप्रपा मौन छ । राप्रपाको साथ पाउने अवस्था बने विश्वासको मत लिने मुख्यमन्त्री पाण्डेको तयारी छ ।

गण्डकीमा एमालेका २२ र माओवादीका (सभामुख र देवकोटा) बाहेक ६ सांसद मात्र छन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । संविधानको धारा १८६ को उपधारा २ अनुसार सरकार बन्न नसके प्रदेशसभाको पहिलो दलको हैसियतमा कांग्रेस नेतृत्वको सरकार बन्छ ।