संसदीय समितिमा पनि मागे सांसदले गृहमन्त्री लामिछानेको राजीनामा

संसदीय समितिमा पनि मागे सांसदले गृहमन्त्री लामिछानेको राजीनामा



काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्रीको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । उनले छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रूपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए ।

उनले भने, ‘पोखरा बुटवलका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोडमा आएको र १ करोड रवि लामिछानेको नाममा आएको भनिएको छ । यसमा छानबिन भइरहेको छ भन्ने छ, यसको छानबिनका लागि उहाँले त्यो छानबिन नकिएसम्म मन्त्रीबाट बाहिर निस्केर सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँं ।’

सांसद बडूले सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र लेख्नुको कारण गृहमन्त्रीसँग माग गरेका छन् । उनले संविधानमा फौजदारी कसुरमा अनुसन्धानका लागि सांसदलाई पक्राउ गर्दा मात्र सभामुखलाई जानकारी गराउने संवैधानिक व्यवस्था रहेको स्मरण गरे । तर सांसद चौधरीको हकमा छानबिन गर्दैछौं भनेर पत्र पठाइएको भन्दै उनले भने, ‘ह्यारेसमेन्ट गर्ने मात्र उद्देश्य हो कि ? आफ्नो ठाउँ लिइहाल भनेर हो कि ? पूर्वाग्रह राखेको हो ?’

त्यसैगरी राप्रपाका नेता तथा राज्य व्यवस्था समितिका सदस्य बुद्धिमान तामाङले गृहमन्त्री लामिछानेलाई हचुवाका भरमा कसैलाई पक्राउ नगर्न सुझाव दिएका छन् । उनले कृष्णबहादुर महरा पक्राउ प्रकरणलाई उदाहरणमा रुपमा प्रस्तुत गर्दै प्रश्न गरे, गर्न खोजेको चाहिँ के हो ?

तामाङले महरालाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याएको र स्वास्थ्य अवस्थाका कारण हस्पिटल पठाइएको स्मरण गराए । पछि महरा साधारण तारेखमा छुटेको उल्लेख गर्दै उनले यो प्रकरणमा सञ्चारमाध्यममा पनि विभिन्न कोणबाट समाचार प्रकाशित भएको जिकिर गरे । ‘नियतवश मान्छे समात्ने, बेइज्जत गर्ने अनि पछि छाड्ने !’ उनले भने, ‘यसरी हचुवाको भरमा काम गर्न भएन ।’ यस्ता कार्यशैली मान्छेलाई बदनाम गर्ने खालको कुरामात्र भएको उनको भनाइ छ ।

उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले फिर्ता लिएको कि सम्बन्धित व्यक्तिले फिर्ता गरेको भन्ने प्रश्न पनि गरे । बालुवाटार जग्गा काण्डमा कसैले जग्गा फिर्ता गरेकै कारण मुद्दा नचलाइएको जिकिर गर्दै उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पनि उस्तै प्रवृत्ति देखिएको बताए । उनले भने, ‘जग्गा फिर्ता गरेकै भरमा छुट पाउने कि नपाउने ?’

नेकपा एमालेका नेता रघुजी पन्तले दुर्गा प्रसाईँका अङ्गरक्षकलाई अनुमति नै नभएको हतियार राख्न कसरी दिइयो भन्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् । उनले हतियार नियमन गर्न नसकेकै कारण संसारका विभिन्न मुलुकमा ठुला हत्याकाण्ड भएको भन्दै त्यस्ता हतियार कतिलाई दिइएको छ भन्दै प्रश्न गरे । दुर्गा प्रसाईँलाई दिएको हतियार हेर्दा हतियार दिने व्यवस्थामा पुन बिचार गर्न आवश्यक रहेको उनको भनाइ छ ।