उपनिर्वाचनः सत्ता गठबन्धन दलहरु मित्रवत् प्रतिस्पर्धामा

उपनिर्वाचनः सत्ता गठबन्धन दलहरु मित्रवत् प्रतिस्पर्धामा

छुट्टाछुट्टै उम्मेदवारको नाम घोषणा गर्दै


ग्लोब नेपाल
108
Shares

काठमाडौं । अहिलेसम्मको परिस्थिति हेर्दा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धन दलहरुले मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । अर्थात् गठबन्धनका दलहरुका छुट्टाछुट्टै उम्मेदवार हुने छन् । यद्यपि गठबन्धनभित्रका दलहरूबीच अन्तिम समयसम्म अहिलेको निर्णयमा फेरबदल हुनसक्ने कतिपय नेताहरूको भनाइ छ ।

आफ्नो पक्षमा निर्णय लिन अन्य दलहरुलाई दबाब दिने उद्देश्यले पनि उम्मेदवारहरुको नाम सार्वजनिक गर्ने रणनीतिका रुपमा पनि यसलाई धेरैले अर्थ्याएका छन् । त्यसो त मित्रवत् प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश पनि दलहरुले दिएका छन् ।

उपनिर्वाचनका लागि यही चैत २४ गते उम्मेदवारी दिने कार्यतालिका तय गरिएको छ । इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेश सभा सदस्य १ मा उपनिर्वाचनमा हुँदैछ ।

बुधबार मात्र नेकपा माओवादी केन्द्रले दुवै स्थानमा उम्मेदवारी दिने निर्णय गरेको छ भने नेकपा एकीकृत समाजवादीले उम्मेदवारको नाम नै सार्वजनिक गरेको छ । उम्मेदवारको टुङ्गो नलगाइसकेपनि माओवादी केन्द्रले इलाम र बझाङमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सो पार्टीको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गर्दै उम्मेदवारको टुङ्गो अर्को बैठकबाट लगाउने भएको हो । नेकपा माओवादी इलाम जिल्ला कमिटीले चार जनाको नाम माथिल्लो कमिटीलाई सिफारिस गरिसकेको छ ।

अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि दुवै स्थानमा उम्मेदवारी दिने भएको छ । इलाम-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय सो पार्टीले गरेको छ ।

प्रदेशसभातर्फ उम्मेदवारी नदिने निर्णय गरेको सत्ता गठबन्धनभित्रकै अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार इलाम-२ मा उठाउने उम्मेदवारको नाम टुंगो लगाउने जनाएको छ ।

रास्वपाले स्वतन्त्र उम्मेदवारी दिएका मिलन लिम्बुलाई समर्थन गर्ने वा आफ्नै उम्मेदवारका रुपमा अघि सार्ने चर्चा पनि छ । तर अहिलेसम्म अन्तिम निर्णय भने गरिसकेको छैन । सत्ता गठबन्धनमा रहेको दल जसपाले भने अहिलेसम्म कुनै निर्णय लिइसकेको छैन ।

सत्ता साझेदार दल नेकपा एमालेले यसअघि नै इलाम-२ मा नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ र बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरिसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेश समितिले इलाम-२ को उम्मेदवारका लागि केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिफारिस भएका नेताहरुसँग छलफल गरेका छन् ।

काँग्रेसले पनि उम्मेदवारको चयन भने गरिसकेको छैन । सत्ता समीकरण परिवर्तनसँगै उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय पनि बनाएका छन् ।

सत्ता गठबन्धनमा आएको फेरबदलका कारण यो उपनिर्वाचनलाई जनमत परीक्षणका रुपमा पनि हेरिएको छ । त्यसमाथि स्वतन्त्र रुपमा युवाहरुले उम्मेदवारी घोषणा गर्न थालेपछि पनि इलाममा हुने उपनिर्वाचन झन् रोचक बन्दै गएको छ ।