विद्युत् आयात सम्झौता नवीकरणमा भारत सकारात्मक

विद्युत् आयात सम्झौता नवीकरणमा भारत सकारात्मक

आइतबारसम्म नवीकरण हुने, लोडसेडिङ नहुने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । विद्युत् आयात सम्झौता नवीकरणमा भारत सकारात्मक रहेको उर्जा जलस्रोत तथा सिचांई मन्त्रालयले जनाएको छ । आगामी आइतबारसम्म नवीकरण हुने मन्त्रालयको भनाई छ ।

नेपालले भारतको इनर्जी एक्सचेञ्ज लिमिटेडसँग सम्झौता गरेर खुला बजारमार्फत विद्युत किनबेच गर्दै आएको छ । इनर्जी एक्सचेञ्ज लिमिटेडसँगको सम्झौता यही मार्च अन्तिममा सकिँदैछ ।

हिउँद लागेसँगै विद्युत उत्पादन कम हुने तथा भारतसँग विद्युत आयात सम्बन्धी सम्झौता नवीकरण नभएको भन्दै लोडसेडिङ बढ्ने खतरा बढेको चर्चा गर्न थालेको छ । तर सम्झौता नवीकरण गर्न भारत सरकार सकारात्मक रहेकाले लोडसेडिङको समस्या नआउने उर्जा जलस्रोत तथा सिचांई मन्त्रालयले बताएको छ ।

नेपालले भारतसँग पाँच वर्षका लागि सम्झौता गरेर विद्युत आयात गर्दै आएको छ । यो सम्झौता हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणले सम्झौताका लागि तीन महिना अघि नै प्रक्रिया सुरु गरिसकेको थियो ।

मंगलबार मात्रै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जा सचिव पंकज अग्रवाललाई फोन गरी विद्युत् आयातसम्बन्धी सम्झौता चाँडै नवीकरण गरिदिन अनुरोध गर्नु भएको थियो । जवाफमा भारतले निर्वाचनका कारण ढिलाई भएको भन्दै छिट्टै नविकरण गरिदिने जानकारी दिएको मन्त्रालयको भनाई छ ।

हिउँद तथा सुख्खा मौसममा विद्युतको उत्पादन कम हुने भएकाले आपूर्ति सहज बनाउन भारतबाट करिब ४० प्रतिशत विद्युत आयात गरिँदै आएको छ । विद्युत् प्राधिकरणको तथ्याङ्क अनुसार अहिले नेपालमा १ हजार ८ सय ८५ मेगावाट विद्युतको माग छ ।

तर, उत्पादन तथा आयात गरेको विद्युत १ हजार ४ सय ८३ मेवागाट मात्रै छ । जसमा करिब ४६ प्रतिशत भारतबाट मात्रै आयात हुने गरेको छ । सुक्खा मौमससँगै विद्युत उत्पादनमा कमी आउँदा अहिले पनि औद्योगिक क्षेत्रमा दैनिक १७-१८ घण्टा लोडसेडिङ भइरहेको छ ।

नेपालले १ सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ६ रुपैयाँ १८ पैसा र ३३ केभीको प्रसारण लाइनमार्फत ६ रुपैयाँ ६५ पैसामा विद्युत आयात गरिरहेको छ ।