देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

प्रतिकूल मौसमले उडान प्रभावित



काठमाडौं । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो ।

मौसमविद् झाले भने, “अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यो क्रम अझै केही दिन जारी रहनेछ ।”

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फको उडान प्रभावित भएको छ । छुन्देबाट आएको एयर चाइनाको जहाज भने अवतरण गर्न नसकेर डाइभर्ट भएको छ । अहिले ट्रकिस एयरलाइन्स, सिचुवान एयरलाइन्स, नेपाल एयरलाइन्स जहाजले ओभर सुट गरिरहेका छन् ।

डमामबाट आएको नेपाल एयरलाइन्स, टर्कीको स्तानबुलबाट आएको टर्किस एयरलाइन्स र छन्डुबाट आएको सिचुवान एयरले ओभर सुट गरिरहेका छन् । आन्तरिकतर्फ पनि उडान पनि केही प्रभावित भएको छ । मौसमको कारण पोखराको उडान हुन सकेको छैन । त्यस बाहेक अन्य ठाउँमा भने उडान भइरहेको विमानस्थल स्रोतले बताएको छ ।

नेपाल एयरलाइन्सको फाप्लु र भोजपुरको उडान रद्ध गरिएको छ । यस्तै पोखरा र नेपालगन्जमा बुद्ध, यती र श्री एयरको उडान समेत डिले भएको छ ।