काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको चैत्र १४ गते बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले यस विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई मिति २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका श्री माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्छ । वहाँ बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन÷प्राध्यापन पेशामा संलग्न थिए ।
यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसंगै २०८१ बैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा उपाध्यायलाई सञ्चालक समितिले नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई मिति २०८० चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया