एमालेमा बा र नयाँ दलमा भगवान प्रश्नभन्दा माथि छन् : गगन थापा

एमालेमा बा र नयाँ दलमा भगवान प्रश्नभन्दा माथि छन् : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अरु दलका शीर्ष नेता प्रश्न भन्दा माथि भएपनि कांग्रेसमा त्यस्तो नभएको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको नाम नलिइकन उनीहरु प्रश्न भन्दा माथि रहेको भन्दै नेतृत्वमाथि प्रश्न गर्न नपाउने प्रवृत्ति रहेको भन्दै टिप्पणी गरेका छन् ।

उनले संवाद यात्रा पुनः सुरु गरेका महामन्त्री थापाले नवलपरासीमा विहीबार बोल्ने क्रममा कांग्रेसमा सभापतिलाई प्रश्न उठाउन सकिने बताए ।

उनले भने, ‘हामीले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेका छौँ। हामीलाई यो मन पनि पर्छ। पार्टीको कार्यक्रम सार्वजनिक रूपमै राखेर पार्टीको समस्या समाधान गरिरहेका छौँ । नेतालाई आफ्नो कुरा भन्न पनि पाउने, आफ्नो फरक मत राख्न पनि पाउनुपर्ने पार्टी हामीलाई मन पनि परिरहेको छ । अरू पार्टी हेर्नुस् त । एमालेमा अहिले पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा । बाभन्दा मुनि सबै जना हुने । बा चाहिँ प्रश्न भन्दामाथि हुने । आलोचना जसले गर्छ त्यसलाई पार्टीबाट बाहिर निकाल्ने ।’

रास्वपाका सभापति लामिछानेलाई संकेत गर्दै थापाले नयाँ पार्टीमा अध्यक्ष भनेको भगवान् जस्तै रहेको बताए । थापाले भने, ‘नयाँ पार्टीमा पनि त्यस्तै छ । अध्यक्ष भनेपछि भगवान । भगवान चाहिँ प्रश्नभन्दा माथि । भगवानले ठगेपनि लुटेपनि माथि हुने । त्यस्तो पार्टी पनि बनाउन मिल्छ। तर, हामीले त त्यस्तो पार्टी नबनाउने भन्यौँ। प्रश्न र छलफल गर्ने पार्टी भनेका छौँ ।’

पार्टीभित्र समस्याहरु रहेको उल्लेख गर्दै थापाले एउटा अधिवेशनदेखि अर्को अधिवेशनसम्म तुष राख्ने प्रवृत्ति उचित नरहेको बताए ।

पार्टीभित्र गुटको अन्त्य गर्न र पार्टी सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउन महासमिति बैठकमा विभिन्न विकल्पको प्रस्ताव गरेको उनले सुनाए । ‘सभापतिलाई मात्रै चुन्ने कि चार वर्ष उसले आनन्दले काम गर्न दिने कि ?’, थापाले भने ।