देशको अर्थतन्त्र संकटमा नरहेको प्रधानमन्त्री प्रचण्डकाे दाबी

देशको अर्थतन्त्र संकटमा नरहेको प्रधानमन्त्री प्रचण्डकाे दाबी



मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । शुक्रबारदेखि हेटौंडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको बाटोमा रहेको दाबी गरेका हुन् ।

उनले भने, ‘अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो । अहिले धेरै सुधार भइसक्यो ।’

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री परिवर्तनसँगै निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको बताए । ‘स्रोत सुनिश्चितता नगरी धेरै योजना अगाडि बढाइएको रहेछ । अहिले हामीले योजना पूर्ण रूपमा सम्पन्न भएको आयोजनाको भुक्तानी दिइसकेका छौं,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सम्झौताबमोजिमको काममा गुणस्तरीयता कायम गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्दै अन्यथा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिए ।