निर्माण उद्योगमैत्री कानून सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

निर्माण उद्योगमैत्री कानून सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री


ग्लोब नेपाल
54
Shares

हेटौडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण उद्योगमैत्री कानून सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । शुक्रवार हेटौडामा नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निर्माण उद्योगमैत्री हुने गरी ऐन संशोधनको चरणमा सरकार रहेको समेत जानकारी दिए । ‘अब सार्वजनिक खरिद ऐन संशोधन गरिँदा निर्माण व्यवसायीहरूको अनिवार्य संलग्नता रहनेछ’ प्रधानमन्त्री दाहालले भने ।

‘निर्माण व्यवसायीहरूले पाउनु पर्ने रकमको चाँडै भुक्तानी गरिने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री दाहालले काम सकेर भुक्तानी नदिनु ‘बेइमानी’ भएको स्वीकार गरे । सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा लागिसकेको जानकारी दिएका प्रधानमन्त्री दाहलले अर्थतन्त्र उकास्न आफू सधै गम्भीर भएर लागेको स्मरण गराउँदै अर्थतन्त्र सुधारोन्मूख रहेपनि दबाबमुक्त भने नरहेको बताए ।

अघिल्लो पटक फरक दलबाट अर्थमन्त्री हुँदा अर्थतन्त्र उकास्ने दिशामा केही समस्या देखिएको बताउँदै प्रधानमन्त्री दाहालले अब त्यो प्रवृत्ति नदोहोरिने विश्वास दिलाए । निजी क्षेत्रको सहकार्यलाई आफूले सधै प्राथमिकतामा राखेकाले पनि अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको प्रधानमन्त्री दाहालले दाबी गरे । एक आपसमा रहेको अविश्वासको वातावरणको अन्त्य गर्दै सबै राष्ट्रहितका लागि एक हुनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए ।

प्रतिनिधि सभा अन्र्तगत भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले प्रधानमन्त्री दाहालको नेतृत्वमा निर्माण उद्योगमा विद्यमान चुनौति समाधान हुनेमा आफू आशावादी रहेको बताए । सभाका सभाध्यक्ष नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनपछि म्याद थपको समस्या सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गरे । नियमावली संशोधनका लागि सरकारलाई धन्यवाद दिँदै अध्यक्ष सिंहले राज्यले हठात् विना बजेटका योजनाहरू घोषणा गर्दा निर्माण उद्योग अस्तव्यस्त भएको बताए ।

व्यवसायीहरूले पाउनु पर्ने रकम भुक्तान भएमा अर्थतन्त्र चलायमान हुने भन्दै उनले गुणस्तरीय विकास निर्माणका लागि सरकारसँग हातेमालो गर्न सकरकार तयार रहेको बताए । महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष जयराम लामिछानेले स्वतन्त्र रुपमा निर्माण व्यवसायीहरूले काम गर्ने वातावरण सरकारले बनाइदिनु पर्ने धारणा राखे । निर्माण व्यवसायीलाई ‘ठेकेदार’ भन्ने शब्द खारेज गर्न उनले माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र उकास्न निर्माण उद्योगको भूमिका ‘विशेष’ रहेको बताए । निराशाको खेती गरेर मात्र देश समृद्ध नहुने भएको भन्दै अध्यक्ष ढकालले सरकारको निजी क्षेत्रको सहकार्य जरुरी भएको बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक उन्नतिमा निर्माण उद्योगको भूमिका बारे प्रकाश पारे ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले अत्यधिक संख्यामा रहेका साना निर्माण व्यवसायीहरूको समस्याप्रति राज्यको ध्यानाकर्षण गराउँदै मूल्य समायोजन, भुक्तानी व्यवसायीहरूको मुख्य माग रहेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले राज्यले निर्माण उद्योगलाई प्राथमिकतामा राखेको भान आफूलाई भएको बताए । साधारण सभा सहआयोजक निर्माण व्यवासयी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले साधारण सभाको आयोजनबाट मकवानपुरको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

साधारण सभाकै अवसरमा प्रधानमन्त्री दाहालले महासंघको मुखपत्र ‘निर्माण विशेषांक’ को विमोचन गर्नुका साथै अग्रज निर्माण व्यवसायीहरू धुव्र कार्की र रोशनकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । महासंघको दुई दिने साधारण सभा घोषणापत्र जारी गर्दै शनिवार सम्पन्न हुने महासंघका प्रवक्ता शिवहरिले जानकारी दिए ।