गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री र प्रहरीले ‘क्लिन चिट’ दिए : कांग्रेस

गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री र प्रहरीले ‘क्लिन चिट’ दिए : कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रहरी प्रमुख बसन्त कुँवरले ‘क्लिन चिट’ दिएको भन्दै आपत्ति जनाएकाे छ । आइतबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै समय लिएर बोल्दै कांग्रेस सांसद सन्जय गौतमले गृहमन्त्री सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गरेका हुन् ।

उनले अघिल्ला गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषीलाई उन्मुक्ति नदिने भन्दै अपराध गरेकोमा कारबाही हुने कुरा बताएको स्मरण गरे । सांसद गौतमले छानबिन हुनुपर्ने व्यक्ति गृहमन्त्री भएपछि कसरी निष्पक्ष छानबिन हुन्छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘कांग्रेसले उठाएका कुरालाई सत्ता पक्षले गम्भीरतापूर्वक लिन सकेको छैन । हामीले राजनीतिक पूर्वाग्रहमा उठाएका हैनौं । त्यतिखेर तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषी उम्किन दिँदैनौं भन्नु भएको थियो । अहिले सरकार फेरियो परिस्थिति फेरियो । जसमाथि छानबिन भइरहेको थियो । उहाँ नैगृहमन्त्रीको कुर्सीमा उभिनुभयो । प्रधानमन्त्रीले न्यायधीश जस्तो हुकुम दिने राजा/महाराज जस्तो क्लिन चिट दिने काम गर्नुभयो । प्रहरी प्रमुखले पनि फासफुस पार्ने ढंगबाट क्लिन चिट दिन खोज्नुभएको छ । हामीले उठाएका सवालमा गम्भीर प्रश्न जन्मियो । संसदीय छानबिन समितिको माग आज पनि जारी छ ।’

उनले संसदीय छानबिन समिति नबने लामिछानेको विषयमा कसरी निष्पक्ष छानबिन हुन्छ भन्दै थप प्रश्न गरे । उनले भने, “हामीले संसदीय समितिको माग गरेको छौँ । गोरखा मिडिया नेटर्वकका नाममा ८० करोडभन्दा बढी सहकारीको रकम जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा छैन । ९० हजार जनताले कसरी न्याय पाउने भयो ?”

गौतमले यो विषय गृहमन्त्रीको नैतिकतासँग जोडिने भन्दै स्वार्थ बाझिने काम भइरहेको पनि उल्लेख गरे । पूर्वअर्थमन्त्रीद्वय रामशरण महत र जर्नादन शर्मा तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको उदाहरण दिँदै लामिछानेलाई नैतिकता देखाउन उनले आग्रह गरे । “समस्या नैतिकताको ठूलो प्रश्न हो । यो विषयमा सरकार गम्भीर हुनुपर्छ । हामीले उठाएका प्रश्न गम्भीर छ । प्रधानमन्त्री र प्रहरी प्रमुखको जवाफ ठिक भएन,” उनले भने ।