एकीकृत समाजवादीको अडान कायमै

एकीकृत समाजवादीको अडान कायमै

मुख्यमन्त्री जम्मरकट्टेल अप्ठ्यारोमा


ग्लोब नेपाल
81
Shares

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराएर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विस्वासको मत लिने वातावरण तयार पारेका छन् ।

संबैधानिक ब्यबस्था अनुसार चैत्र २२ गतेभित्र विश्वासको मत लिनुपर्ने भए पनि उनले १९ गते नै विश्वासको मत लिने तयारी गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज तेस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका छन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । २०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले त्यतिबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिएका थिए । गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

बागमतीमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समीकरण बनेको छ । बागमतीमा पटक पटक गठबन्धन फेरिएपनि जम्कट्टेलले मुख्यमन्त्रीको पद भने छोडेका छैन ।

तेस्रो पटक पनि विश्वासको मत पाउनेमा मुख्यमन्त्री जम्कट्टेल ढुक्क छन् । मुख्यमन्त्री जमकट्टेलले चार दलीय समीकरणसँग बहुमत रहेकाले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताए ।

यथास्थितीमा विश्वासको मत दिंदैनौः एकीकृत समाजवादी
बागमतीमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले यथा स्थितिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएको छ । हिजो आइतबार अपरान्ह बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।

बागमती प्रदेशमा ७ सिट रहेको एकीकृत समाजवादी आफ्नो निर्णयमा अडिग रह्यो भने मुख्यन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव पास नहुने देखिएको छ । निर्णय बलिएको खण्डमा भने मुख्यमन्त्रीले बहुमत पाउने अवस्था रहन्छ ।

विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन
प्रदेशको सबैभन्दा ठूलो लद नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हिजै आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

बागमती प्रदेश सरकारबाट राजिनामा दिई बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकोले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले बताए ।

१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।