काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशालाई चिर्दै नागरिकमा आशा जगाउने सरकारको उद्देश्य भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
मन्त्री भण्डारीले भने, ‘यो कानुन आजको आवश्यकता हो । समय सान्दर्भिक पनि छ । उद्यमशीलतालाई प्राथमिकता दिँदै कारोबारलाई विश्वसनीय बनाउन, व्यवसायको वर्गीकरण गर्ने विषयमा सांसदहरूले दिनुभएको साझा मतलाई आत्मसाथ गरिनेछ ।’
युवालाई नयाँ व्यवसायमा प्रोत्साहित गर्ने मत सकारात्मक भएको उल्लेख गर्दै मन्त्री भण्डारीले नवप्रवर्तनसम्बन्धी नीति सरकारको प्राथमिकतामा रहेको बताए । नियमन गर्ने सन्दर्भमा नियन्त्रण हुन्छ कि भन्ने सुझावप्रति पनि ध्यानाकर्षण भएको उनको भनाइ थियो ।
मन्त्री भण्डारीले सदनमा उठेका सुझावप्रति धन्यवाद दिँदै उनले अब संसदीय समितिमा दफावार छलफल गरी विधेयकलाई समृद्ध बनाइने बताए । राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त उक्त प्रस्ताव प्रतिनिधि सभाको बैठकले बहुमतले स्वीकृत गरेको छ ।
बैठकमा आजै सभामुख देवराज घिमिरेले संसदको संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा पदम गिरीको स्थानमा सुनिता बरालको नाम हेरफेर गर्न सभाको सहमतिका लागि प्रस्ताव गरे । उक्त प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।
बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक भोलि चैत २० गते बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया