यथास्थितिमा क्रमभंग गर्न जरुरी छ : विप्लव

यथास्थितिमा क्रमभंग गर्न जरुरी छ : विप्लव



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द्र ‘विप्लव’ले यथास्थितिमा क्रमभंग गर्न जरुरी रहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभागृहमा मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले जनतातिर फर्कने कानुन संरचना निर्माण गर्नुपर्ने आफूहरूको दृष्टिकोण रहेको सुनाए ।

उनले भने, “यथास्थितिमा क्रमभंग गर्न जरुरी छ । संकट र सम्भावनाको कुरा गरिरहेका छौँ । हामीले कुनै न कुनै तरिकाले क्रमभंग गर्दै जनतातिर फर्कने व्यवस्था, जनतातिर फर्कनुपर्ने संरचना, कानुन, प्रशासन निर्माण गर्दै अघि बढ्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।”

उनले दलाल पुँजीवाद अन्त्य नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने स्पष्ट पारे । अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्ने उनले विचार राखे ।

‘देशमा संकटमात्र छैन । संकटभित्र सम्भावना पनि छ । संकटबाट सबै खालका समस्याको समाधान निकाल्न पनि सकिन्छ । अहिले दलाल पुँजीवादबिचको टकराब देखिएको छ । अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्छ’, विप्लवले भने ।

उनले समाजवादी मोर्चाले अराजतकता ल्याउँछ कि भन्ने बहस गलत भएको बताए । “बजारमा समाजवादी मोर्चाले अस्थिरता, अराजकता ल्याउँछ कि भन्ने बहस भइरहेको छ । त्यो साँचो होइन । निराशा, पलायन मात्रै पनि साँचो होइन । आजको जस्तो नेपाली समाज स्वतन्त्र इतिहासमा कहिल्यै भएको थिएन,” उनले भने ।