प्रधानमन्त्री प्रचण्डले गरे रेशम दम्पतीसँग छुट्टाछुट्टै छलफल

प्रधानमन्त्री प्रचण्डले गरे रेशम दम्पतीसँग छुट्टाछुट्टै छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो रेशमसँग छलफल गरेका हुन् । छलफल नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा केन्द्रित थियो ।

श्रीमान-श्रीमतीबीचको विवादका कारण पार्टी विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न प्रधानमन्त्रीले पहल लिएका हुन् ।

संरक्षक चौधरीलाई प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन र नयाँ समीकरणअनुसारको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

रेशम र रन्जिताबीच विवाद हुँदा नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन भने नयाँ सत्ता समीकरण अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा अन्यौल छ ।

रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रञ्जितासँग छलफल गरेका छन् । ओली भेट्न रञ्जिता मंगलबार दिउँसो बालकोट पुगेकी थिइन् । रेशम चौधरी पनि ओलीलाई भेट्न बालकोट जाने तयारीमा रहेको बताइएको छ ।