नेपालमा लगानी गर्न स्विस उद्यमीलाई सरकारको आह्वान

नेपालमा लगानी गर्न स्विस उद्यमीलाई सरकारको आह्वान



काठमाडौं । सरकारले स्विट्जरल्यान्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्विस सरकारसँग अनुरोध गरेको छ । आउँदो महिना नेपालमा हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्विस सरकारलाई सरकारले अनुरोध गरेको हो ।

नेपाल–स्विट्जरल्यान्ड परामर्श संयन्त्रको बेर्नमा भएको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले लगानी गर्न आह्वान गर्नुभएको जेनेभामा रहेको नेपालको दूतावासले जनाएको छ । बैठकमा नेपाल–स्विट्जरल्यान्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानव अधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि छलफल भएको थियो ।

दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित देशको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्विट्जरल्यान्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको दूतावासले जनाएको छ ।

छलफलमा स्विस सरकारका प्रतिनिधि हेनरिच सेलेनवर्गले नेपालको विकास प्रयासमा स्विस सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।