गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्यायो : एमाले

गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्यायो : एमाले



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ । कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसद्को रोष्ट्रमबाट बोल्न नदिने निर्णय नै गरेको अवस्थामा एमालेको प्रतिक्रिया आएको हो ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले त्यो गर्न नदिएर संसदमा अराजकता मच्याएको बताए ।

‘गृहमन्त्रीलाई बोल्छु भन्दा रोकेर राजनीतिक असहिष्णुता र संसदीय अराजकता कांग्रेसका तर्फबाट भएको छ । हामी सत्तापक्ष प्रतिपक्षलाई आग्रह गर्न चाहन्छौं– यो हाउसमा प्रतिपक्ष मात्रै छैन, सरकार बीचमा छ । सभामुखको आसनबाट दाया सत्तापक्ष छ, बायाँ प्रतिपक्ष छ । प्रतिपक्षले सदनमा रोक्ने ? हामी गृहमन्त्रीलाई सुन्न चाहन्छौं । सिंगो देशले गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरूले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्ता पक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ?,’ बर्तौलाले भने, ‘कांग्रेसले जे गरेको छ त्यो बेठिक छ, मिलेको छैन । राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बन्धकी संसद्लाई बनाउनु हुँदैन । सरकारबाट बाहिरिने कुरा लोकतन्त्र र संसद्को आजको गणितले त्यो चलिरहन्छ ।’

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले कांग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न पनि सचेत गराए । प्रमुख सचेतक बर्तौलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनि काँग्रेसलाई प्रश्न समेत गरे । ‘हामी कांग्रेसलाई सोध्न चाहन्छौं– कांग्रेसले गृहमन्त्री मान्छ कि मान्दैन ?, गृहमन्त्री स्वीकार गर्छ कि गर्दैन ? यदि कांग्रेसले गृहमन्त्री स्वीकार गर्दैन भने बहिष्कार गरोस् । विज्ञप्ति निकाल्नुहोस्, हामी बहालवाला गृहमन्त्रीलाई कुनै पनि हालतमा स्वीकार गर्दैनौं र यो देशमा गृहमन्त्री भएको हामी मान्दैनौं कांग्रेस भन्नसक्छ ?’