वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

पूर्वमन्त्री शाहीसहित ३२ जना प्रतिवादी



काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरिएको पुष्टि गरे ।

अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौली र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

शाही कर्णालीमा कांग्रेस संसदीय दलका नेता हुन् । तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए । कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन् ।

२०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर विमान खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप लागेको थियो । त्यस बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै थिए ।