प्रा.डा पोखरेल र वरिष्ठ कवि पुडासैनीलाई नगद १—१ लाखसहित गोकर्णेश्वर नगरपालिकाको सम्मान

प्रा.डा पोखरेल र वरिष्ठ कवि पुडासैनीलाई नगद १—१ लाखसहित गोकर्णेश्वर नगरपालिकाको सम्मान


ग्लोब नेपाल
54
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगरभित्र स्थायी बसोवास गर्दै साहित्यमा साधनारत अग्रज सर्जक तथा समाजसेवीलाई नगद सहित सम्मान गरेको छ । नगरपालिका प्रमुख दीपककुमार रिसालले संस्कृतिविद् एवं समाजसेवी प्रा.डा. ऋषिराम पोखरेल र गीतकार एवं वरिष्ठ कवि कञ्चन पुडासैनीलाई गोकर्णेश्वर साहित्य पुरस्कार २०८० ले सम्मान गरेका हुन् ।

सम्मानित व्यक्तित्वहरूलाई एक—एक लाख रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्दै नगर प्रमुख रिसालले नगरपालिका साहित्य क्षेत्रको विकासमा योजनाबद्ध हिसाबले लागेको बताए । नगरमा साहित्यको उत्थानका लागि अभिनव साहित्य समाज, रमेश विकल साहित्य प्रतिष्ठान, भैरव पुरस्कार गुठी, सुरभि साहित्य प्रतिष्ठानले निर्वाह गरिरहेको भूमिकाको पनि नगरप्रमुख रिसालले तारिफ गरे ।

रिसालले राष्ट्रिय स्तरका साहित्यिक कार्यक्रम गर्दै नगरपालिकाले विशिष्ट पहिचान बनाएको धारणा राखे । समृद्ध समाज निर्माणमा साहित्यको भूमिका अहं हुने भएकाले आफूले साहित्यलाई उच्च महत्वमा राखेको उनले बताए ।

नगर उपप्रमुख सान्नानी लामाले साहित्यले सिर्जनशीलता बढाउने र भौतिक विकासमा सहज हुने धारणा राखे । कार्यक्रममा पुरस्कार चयन समितिका साहित्यकारहरु गोविन्द घिमिरे वेदमणि (अभिनव साहित्य समाज), विजय चालिसे (रमेश विकल साहित्य प्रतिष्ठान) र बाजुराम पौडेल (सुरभि साहित्य प्रतिष्ठान) तथा समालोचक युवराज मैनाली आदिबाट गोकर्णेश्वर नगरपालिकाले साहित्य क्षेत्रको विकासमा गरेको प्रयासको प्रशंसा गरिएको थिए ।

नगरपालिकाका प्रशासन प्रमुख भूपेन्द्र बोहरा, नगर प्रवक्ता वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी लगायतले अग्रज स्रष्टाहरूको सम्मान गर्न पाउनु गर्वको विषय भएको बताए ।