देशलाई सही बाटोमा ल्याउन अझै २० वर्ष सक्रिय राजनीति गर्छु : ओली

देशलाई सही बाटोमा ल्याउन अझै २० वर्ष सक्रिय राजनीति गर्छु : ओली

अध्यक्ष छाडेपछि यो चाहियो, त्यो चाहियो भन्दिनँ



पाेखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सही बाटोमा अघि बढाउन आफू अझै २० वर्ष सक्रिय राजनीतिमा रहने घोषणा गरेका छन् । शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजान आवश्यक भएको बताए ।

‘नेकपा एमाले अहिले नयाँ समीकरणको सरकारमा छ । तर पार्टी आफ्ना-आफ्ना छन् । पार्टीका आफ्ना-आफ्ना नीति छन् । पार्टीका आ-आफ्ना उद्देश्य छन् । आफ्ना उद्देश्य नछोडिकन, आफ्ना नीति नछोडिकन अहिलेको अवस्थामा सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने, अपसंस्कृति र सांस्कृतिक अधोपतनलाई फेरि सुबाटोमा फर्काउनुपर्ने अभिभारा छ,’ अध्यक्ष ओलीले भने, ‘कसैले एमाले बिनाको नेपाल भने त कसैले केपी ओलीबिनाको नेपाल भनेर सोचे । तर अब त्यस्तो नसोचे पनि हुन्छ- मैले पोहोर परार भनेको थिएँ, जुँगा अलि काला- काला हुन थाले भनेर । मेरो कपाल सबै झरेको थियो, अहिले पलाउन थालेको छ । यो रोपेको होइन, आफैँ पलाउन थालेको हो । अझै २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ । नेकपा एमाले र यस देशलाई ठिक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनिमात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ ।’

उनले सबैले सरापे पनि आफ्नो नेतृत्वमा एमाले झन् बलियो बन्दै गइरहेको टिप्पणी गरे । उनले ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरी अहिलेदेखि संगठन निर्माणमा परिचालित हुन समेत नेता कार्यकर्तालाई निर्देशन दिए ।

ओलीले पार्टीका पूर्व प्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परम्परा गलत भएको बताए । आफूले अध्यक्ष पद छोडेपछि वरिष्ठ नेता भएर अध्यक्षको छेउमै बसेर यो पनि चाहियो त्यो चाहियो भनेर नबस्ने उनले बताएका हुन् ।

अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनालले जस्तो नगर्ने बताउँदै भने, ‘माधव नेपालले १५ वर्ष पार्टी अध्यक्ष भएर चलाए, प्रधानमन्त्री भए । अनि भन्छन्, मलाई खोइ ? मेरो के भयो त ?’ ओलीले हाँस्दै भने, ‘अहिले सत्ता समीकरणमा हुनुहुन्छ । त्यो पनि ख्याल गर्नुपर्नेछ फेरि, मैले झण्डै झण्डै बिर्सिएछु ।’

१३ वर्ष पार्टी प्रमुख भएका झलनाथ खनालले प्रधानमन्त्री भए पनि मेरो भाग खोइ त भनेर खोज्ने गरेको उनले बताए । पार्टीका पूर्व प्रमुख भएकै कारण स्वतः वरिष्ठ नेता भएर अध्यक्षकै छेउमा बस्ने र झन्झट दिने काम अब एमालेमा नहुने उनले बताए । उनले भने, ‘सकुञ्जेल काम गर्छु, अध्यक्ष छोडेपछि अर्काले मजाले काम गर्न पाउनुपर्छ । वरिष्ठ नेता बनेर छेउमा बसेर खिचिखिचिखिचि हुँदैन । म गर्दै गर्दिनँ ।’

अहिले एमालेले माओवादी सहितका दलहरुसँग गठबन्धन नभइ आ–आफ्नै पार्टी र नीतिअनुसार चल्ने गरी सत्ता समीकरण मात्र बनाएको ओलीले बताएका छन् ।