समुन्नत र समृद्ध नेपाल नै नेपालीको चाहना : राष्ट्रपति

समुन्नत र समृद्ध नेपाल नै नेपालीको चाहना : राष्ट्रपति



लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर देश विकासको जनचाहाना पूरा गर्नु रहेको बताएका छन् ।

“स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला संस्कृति समृद्ध लमजुङको आधार” भन्ने नारासाथ शुक्रबार सुरु भएको आठौं लमजुङ महोत्सवको उद्घाटन तथा लमजुङ भ्रमण वर्ष २०८१ को घोषणा समारोहलाई शुक्रबार वेँशीसहरमा सम्बोधन गर्दै उनले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

“त्यसका लागि श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य छ, मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकरणको मार्ग प्रशस्त गर्न सक्दछौ जुन ठूलो त्याग, बलिदान र संघर्षबाट प्राप्त हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पनि लक्ष्य हो”, राष्ट्रपति पौडेलले भने ।

उनले राजनीतिक दल, सरकार र नीति निर्माताहरूले सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना रहेको उल्लेख गरे ।

निजी क्षेत्रसँगको सहकार्यमा यहाँको पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति विकास तथा मौलिक कला, संस्कृति, सम्पदा र रैथाने उत्पादनलाई पर्यटनसँग आवद्ध गराउनुपर्नेमा उनले जोड दिए । उत्पादन, उत्पादकत्व र यस क्षेत्रको आर्थिक उन्नतिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्नुपर्ने आवश्यकता छ भन्दै उनले जलविद्युतका धेरै आयोजनाहरू यसै क्षेत्रमा निर्माण भइरहेकाले भविष्यमा ऊर्जाको आपूर्ति सहज हुने हुँदा यस क्षेत्रमा उद्योग स्थापना गर्ने वातावरण समयमै सृजना गर्नु उपयुक्त हने धारणा व्यक्त गरे ।

देशका विभिन्न भागमा हुने महोत्सव तथा मेला पर्वहरूले सो क्षेत्रका धर्म, कला, सस्ंकृति, परम्परा संरक्षण र संवद्र्धन तथा यस क्षेत्रको पर्यटन, व्यवसाय तथा उत्पादनको प्रवद्र्धन, औद्योगि, पूर्वाधार परियोजनाका लागि लगानीमैत्री वातावरणसमेत सृजना गर्न महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपति पौडेलको विश्वास थियो ।

“भौगोलिक रूपमा नेपालकै मध्यभागमा अवस्थित लमजुङ जिल्ला अनुपम प्राकृतिक सौन्दर्य, आस्थाका धरोहरका रूपमा धार्मिक सम्पदाहरू, गौरवपूर्ण ऐतिहासिक गाथा, लोकतान्त्रिक राजनीतिक आन्दोलनको उर्वर भूमि, साहित्य तथा सास्कृतिक पक्षका दृष्टिले पनि आकर्षणको केन्द्रमा रहेको छ”, राष्ट्रपति पौडेलले भने ।

विसं २००७ सालको परिवर्तनको पूर्वसन्ध्यामा जातीय भेदभाव, छुवाछुतविरुद्ध सामाजिक आन्दोलनको चम्किलो जागरण बनेको हलो क्रान्ति यही भूमिबाट उब्जिएको प्रसङ्ग उल्लेख गर्दै उनले राजनीतिक चेतनाका लागि ब्राह्मणहरूले चलाएको सामाजिक जागरणको उक्त अभियानले राणाशासनको जग नै हल्लाइदिएको र यहीबाट प्रजातन्त्रको उज्यालो प्रकाश पहाडी कन्दरा फैलिएको बताए ।

उनले आजको नेपालमा लमजुङ लुकेको सम्पत्ति (हिडन ट्रेजर)का रुपमा रहेको र यहाँको हावापानी माटो र सिङ्गो प्रकृति अनुपम छ, कृषि क्रान्ति, पर्यटनको विस्तार र जलस्रोतको विकास तिनवटै कुराको सशक्त आधार भूमि लमजुङ भएको बताए । “यसमा अन्तरनिहीत सम्भावनालाई उजागर गर्न सके समृद्धिको स्वर्ग यही नै भेटिन्छ, रोजगारी र आम्दानीको खोजीमा देश विदेशमा भौतारिरहनु पर्दैन”, राष्ट्रपति पौडेलले भने ।

विश्वमै उत्कृष्ट पर्यटकीय पदयात्राको ख्याती कमाएको अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका कारण आवश्यक सुविधा र पूर्वाधार खडा गरी यसले पर्यटन व्यवसायबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो । आन्तरिक पर्यटनको केन्द्र बनेको घले गाउँ, काउलेपानी र भुजुङसहितका गाउँ अनि होमस्टेहरू मात्र हैन गाउँसहर बेँसीसहर, राइनासटार, भोर्लेटार हुँदै चितिदेखि चसङ्कूसम्म, घनपोखरादेखि डाँडा–कुन्छासम्म र विचौरदेखि रिस्ति रम्घासम्मका पुराना नामी गाउँहरूले यहाँको मनोरम ऐतिहासिक आकर्षणको आयामलाई बढाइदिएको उनले बताए ।

“यहाँको जस्तो जमिन रसिलो हो, मान्छे पनि रसिला र पाखा पखेरा पनि हसिला छन् । आफै हुर्केबढेको, सङ्घर्ष र आन्दोलनका उकाली ओराली गरेको यही सुन्दर प्रकृति, संस्कृति र पाखा पखेरा देखेपछि अनि मलाई भन्न मन लाग्छ: ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरा, हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो”, उनले भने ।

‘धार्मिक, ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाः दीगो पर्यटन उद्योग- समुन्नत लमजुङको मार्गदिशा’ भन्ने अवधारणासाथ जिल्लाका भौगोलिक, ऐतिहासिक, साहित्यिक तथा साँस्कृतिक पर्यटनका गन्तव्यहरूका अलावा प्राकृतिक सम्पदाहरूको प्रचारप्रसार गरी जिल्लाको दीगो पर्यटन प्रवद्र्धनमा सहयोग पुरयाउन यस्ता कार्यक्रमले सहयोग दिने उनले विश्वास व्यक्त गरे । “यस्ता अभियान र गतिविधिले राष्ट्रिय अर्थतन्त्रमासमेत महत्वपूर्ण टेवा पु¥याउने छ भन्ने विश्वास लिएको छु”, उनले भने ।