सुहाङको र्‍यालीसँग झलनाथको जम्काभेट

सुहाङको र्‍यालीसँग झलनाथको जम्काभेट


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आगामी १५ वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको मनोनयन दर्ता सकेर पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार जितबहादुर राईसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बाहिरिदै थिए ।

दिउँसो साढे एक बजे कलम चिह्न अंकित झण्डा लिएर बसेका एकीकृत समाजवादीका कार्यकर्ताहरु निर्वाचन कार्यालय बाहिर नै खनाल र उम्मेदवार राईलाई पर्खिरहेका रहेका थिए ।

त्यही बेला एमालेका उम्मेदवार सुहाङ नेम्वाङ मनोनयन दर्ता गराउन आइपुगे । एमाले नेता कार्यकर्ताको र्‍यालीको अघिअघि दुबोको माला पहिरिएका नेम्वाङ थिए । खनाल मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बाहिरिएपछि केही पर रहेको आफ्नो गाडीतर्फ जाँदै थिए । एमाले नेता कार्यकर्ताको समूहले उनलाई घेरिहाल्यो ।

माओवादी केन्द्रका नेता कान्छा लावतीले खनालसँग हात मिलाए । लगत्तै एमालेका नेता गणेश बरालले पनि खनालसँग भेटवार्ता गरे । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता हिक्मत कार्की पनि दौडिएर खनालको छेउमा आए र एमाले नेता कार्यकर्ताको भीडलाई थोरै छेउ लगाए । भीडले खनालको टिमलाई केही गर्ने पो हो कि भन्ने संशय उनमा देखिन्थ्यो ।

त्यही बेला एमाले उम्मेदवार सुहाङसँग खनालको भेट भयो । सुहाङले खनालको अगाडि शीर निहुराए । खनालले पनि सुहाङलाई शुभकामना दिए । इलाम–२ उपनिर्वाचनको चुनावी कमाण्डर एमाले नेतृ शिवमाया तुम्वाहाङ्फे र खनालबीच नमस्कार आदान प्रदान भयो ।