राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे र विष्णु पुडासैनीको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे र विष्णु पुडासैनीको उम्मेदवारी दर्ता



काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की रहेका छन् । त्यस्तै पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका छन् ।

उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताए ।

गणितीय हिसाबले अगाडि रहेकी गठबन्धनकी उम्मेदवार एवम् एमाले सांसद घिमिरेले आफू निर्वाचित भएमा राष्ट्रिय सभा अध्यक्षसँग सल्लाह गरेर विधेयक अघि बढाउने लगायतका काममा प्रभावकारी भूमिका खेल्ने बताइन् ।

राष्ट्रिय सभा उपाध्यक्ष पदकाे निर्वाचन भने बुधबार हुनेछ ।

यसैगरी कांग्रेस उम्मेदवार विष्णुदेवीले सबैलाई आफूलाई माया गर्ने भएकाले आफूले नै चुनाव जित्नेमा विश्वस्त रहेको बताइन् ।