काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्ष दलहरूका सांसदले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् । अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।
सभामुख घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् । तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् ।
थिङले बोलेपछि सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई बोल्न दिएपछि कांग्रेस सांसदहरूले अवरोध गरे ।
त्यसपछि सत्तापक्षका सांसदहरू पनि आसनबाट उभिएर बैठक अवरुद्ध गरेका हुन् । सभामुख देवराज घिमिरेले विधायिकी काममा ढिलाइ भएको, सांसदहरूलाई बोल्न नियमावली अनुसार समय दिएको, संसद् बैठक सञ्चालनको वातावरण बनाउन र सांसद झालाई बोल्न दिन आग्रह गरे ।
तर नेपाली कांग्रेसले अवरोध जारी राखेपछि पटक पटक सदन सुचारु गर्ने वातावरण बनाउन गरेको आग्रह अस्वीकार गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
प्रतिक्रिया