काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभामा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
कांग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङको प्रस्ताव र सांसदहरू बद्री पाण्डे र जीवन परियारको समर्थनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको हो ।
उनीहरूले सबै कालखण्डको भ्रष्टाचार र सार्वजनिक पद धारणा गरेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग राखेका छन् ।
‘सार्वजनिक पदाधिकारीहरुको सम्पत्ति विवरण माग गर्ने र जाँचबुझ गरी प्रतिवेदन दिनको लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने हाम्रो अभ्यास पनि देखिन्छ । २०४७ सालदेखि विभिन्न पदमा बहाल रहेका र अवकाश प्राप्त पदाधिकारीहरुको सम्पत्ति जाँचबुझ गरी राय सहितको प्रतिवेदन पेस गर्न २०५८ फागुन २४ गते न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो। सो आयोगले जाँचबुझ गरी पेस गरेको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वन गर्नु आवश्यक छ,’ प्रस्तावमा भनिएको छ ।



प्रतिक्रिया