काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्नको लागि संसदीय समिति बनाउनु पर्ने अडानलाई कायमै राखेको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले निर्दोष भए छानबिन समिति बनाउनबाट किन भागेर हिँड्नुपर्यो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘हामीले छानबिनको माग गर्दा म निर्दोष छु छानबिन हुनु हुँदैन भनिन्छ । हामीले कसैलाई दोषी करार गरेका छैनौँ । निर्दोष छ भने एउटा संसदीय छानबिन समिति गठन गरौँ त्यो समितिले जे भन्छ त्यसलाई हामी मान्न तयार छौँ भन्दा किन सरकार अड्किएर बसेको छ ? हामीले फेरि पनि भन्यौँ हामीले कसैसँग पूर्वाग्रह राखेका छैनौँ । हामी कसैलाई फसाउन चाहँदैनौँ । तर, गल्ती छैन भने भन्न सक्नुपर्यो मेरो केही गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन ? किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ ।’
उनले गृहमन्त्री भएपछि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको बताए । ‘काठमाडौंबाट सीआइबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो सत्ता समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन भयो भन्ने हामीलाई आशंका भयो’ सांसद खतिवडाले भने ।
जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेको उनको भनाइ छ । आफूहरू संसद् अवरोध गर्ने पक्षमा नरहेको बताउँदै उनले सरकार नै सहमतिको बाटोमा नहिँडेको बताए ।
प्रतिक्रिया