वैशाख २ गतेबाट संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

वैशाख २ गतेबाट संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

राष्ट्रियसभा सदस्यमा शाक्यलाई मनोनीत गर्न सिफारिस



काठमाडौं । संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समितिको सदस्य राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य सिफारिस समितिमा छन् ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो ।

शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । उनी पूर्व राजदूतसमेत हुन् ।