गृहमन्त्रीको राजीनामा कांग्रेसको बटमलाइन, प्रधानमन्त्री दाहालले माफी माग्नुपर्ने

गृहमन्त्रीको राजीनामा कांग्रेसको बटमलाइन, प्रधानमन्त्री दाहालले माफी माग्नुपर्ने


ग्लोब नेपाल
2.5k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडीएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामाको रणनीति बनाउने भएको छ ।

सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले अब उनको राजीनामालाई बटमलाइन बनाउने तयारी गरेको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ । गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

उनले भने, ‘अब संसदीय समिति–समिति भन्दा त अगाडि बढ्छ । राजीनामासम्म पुग्छ ।’ सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जवाफ दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब माफी माग्नुपर्ने पनि उनले बताएका छन ।

उनले भने, ‘सहकारीबाट रित नपुर्‍याएर कर्जा लिएको भनिएको छ । त्यो कर्जा अहिलेसम्म पनि तिर्न बाँकी छ भनेको छ । प्रधानमन्त्रीले रवि लामिछाने निर्दोष छन्, कुनै प्रमाण छैन, प्रहरीसँग मैले कुरा गरिसकेँ भन्नुहुन्छ ।

त्यसैले यो मुद्दा अलि पेचिलो बन्दै जान्छ ।’ यस्तै प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारीको रकम अपलन गरेको पुष्टि हुँदा प्रतिवादी नबनाइनु मजाकको हद भएको उनको भनाइ छ ।

‘प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले यो–यो ग-यो भनेर सबै लेखेको छ । तर, प्रतिवादी बनाइएको छैन । त्यस्तो पनि हुन्छ ? त्यही प्रहरी भन्दैछ– को रवि लामिछाने हो थाहा भएन ? यो भन्दा मजाक केही हुनसक्छ ,’ लेखक भन्छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख गरिएको छ ।