लुम्बिनी प्रदेश सरकार धरापमा

लुम्बिनी प्रदेश सरकार धरापमा



काठमाडौं । मुख्यमन्त्री पदमा जोगबहादुर महराले सपथ लिएको १० दिनमै लुम्बिनी सरकार धरापमा परेको छ । जनता समाजवादी पार्टी (जसपा) सत्ताबाट बाहिरिएसँग लुम्बिनी प्रदेश सरकार धरापमा परेको हो ।

विश्वासको मत लिँदा महराले ४८ मत पाएका थिए । मुख्यमन्त्री महरालाई एक स्वतन्त्र सांसदले पनि समर्थन गरेका छन् । जसपासँग ३ मत छ । दुई मन्त्रालयको माग पूरा भएन भने जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले बताए । उनले जिम्मेवारी पाएको तेस्रो दिनमै पदबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री महरालाई बाध्यताले समर्थन गर्न पुगेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँग ४ प्रदेशसभा सदस्य छन् । वैकल्पिक व्यवस्था भयो भने नाउपा पनि महरा सरकारमा अडिने मनस्थितिमा छैन । नाउपा र जसपाले मुख्यमन्त्री महरालाई दिएको समर्थन फिर्ता लियो भने सरकार सजिलै ढल्ने प्रदेश सभाको अंक गणितबाट देखिन्छ ।

८७ सदस्य प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमाले हो । उसँग २९ प्रदेशसभा सदस्य छन् भने कांग्रेससँग २७, माओवादीसँग ११, राप्रपा र नउपासँग ४–४ सदस्य छन् । राप्रपाका एक प्रदेशसभा सदस्य निलम्बनमा छन् ।

यसैगरी जनमत, जसपा र लोसपासँग ३–३ प्रदेशसभा सदस्य छन् भने राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीसँग १–१ र जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् । स्वतन्त्र प्रदेशसभा सदस्य माओवादीबाटै विद्रोह गरेर निर्वाचित भएका हुन् ।