एमालेलाई देउवाको प्रश्न– मदन भण्डारीको हत्यारा किन खोज्नुभएन ?

एमालेलाई देउवाको प्रश्न– मदन भण्डारीको हत्यारा किन खोज्नुभएन ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् । उनले कांग्रेसलाई जति गाली गरे पनि एमालेले पटक पटक सरकारको नेतृत्व गर्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको बताएका छन् ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

“म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई गाली गर्नसम्मगर्नुभयो । अब मैले जवाफ दिन परिहाल्यो,” देउवाले भने, “मलाई गाली गरेको गर्‍यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैन ? मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस् । मदन भण्डारीको ड्राइभर पनि मारियो । मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ? कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन ? दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुपर्‍यो तपाईंहरुले ।”

उनले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताएका थिए ।

देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्ने बताएका छन् । उनले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्न सबैको सहकार्य जरुरी भएकोमा जोड दिए ।

“नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु”, सभापति देउवाले भने, “नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ ।”

उनले सङ्घीय संसद्मा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन समेत आग्रह गरे । उनले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको भन्दै प्रश्न समेत गरे ।