हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैन : प्रधानमन्त्री

हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतार गरेर हौसिएर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जादा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताएका हुन् ।

उनले भने, “अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिएछकी जस्तो लाग्छ । अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।” 

यस्तै उनले कम्युनिस्ट पार्टीबिच एकता र सहकार्य हुँदा विगतमा दुई तिहाइ मत ल्याएको स्मरण गर्दै सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउन आवश्यक भएको बताए ।

प्रतिक्रान्तिबाट लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन चुनौती रहेको भन्दै उनले प्राप्त उपलब्धिका लागि सम्पूर्ण गणतन्त्रवादीहरू एक ठाउँमा आउन आवश्यक रहेको बताए ।