कर्णालीमा सरकार बनेको दुई सातापछि मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णालीमा सरकार बनेको दुई सातापछि मन्त्रिपरिषद् विस्तार हुँदै


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । कर्णालीमा सरकार बनेको दुई सातापछि सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।

नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेल २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मंगलबार मात्रै दलहरुबीच प्रारम्भिक भागबण्डा मिलेको छ । बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने र बिहीबार नै मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रले पहिलो चरणमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ । उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा भने अहिले कुनै निर्णय भएको छैन । हुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद परियार यसअघि पार्टीको प्रमुख सचेतक थिए ।

बुधबार बिहान बसेको माओवादी दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ ।