दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा

दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा



काठमाडौँ । दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । उनी करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मङ्गलवार नेपाल भ्रमणमा आएका थानीलाई बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर बिदाइ गरेका हुन् ।

उनलाइ बिदाइ गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए ।

नेपाल रहँदा थानीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

कतारी राजा थानीको भ्रमणका क्रममा नेपाल-कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

प्रधानमन्त्री दाहालसँग आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालयअन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको छ ।