उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाले दिए धन्यवाद

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाले दिए धन्यवाद


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । 

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गरेका हुन् । साथै मतदाताको उत्साहपूर्ण सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएका पनि उनले उल्लेख गरेका छन् ।  

सभापति देउवाले उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ । “निर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा इलाम र बझाङका मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु । उपनिर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पुर्याउने विश्वास छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

त्यस्तै, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मीलगायतलाई पनि उनले धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।