डा बिष्णु माया परियारलाई प्रतिष्ठित मानवअधिकार समाजसेवी पुरस्कार

डा बिष्णु माया परियारलाई प्रतिष्ठित मानवअधिकार समाजसेवी पुरस्कार



न्यूजर्सी । अमेरिकाको न्यूजर्सीमा बस्दै आएकी समाज सेवी तथा महिला अधिकारकर्मी डा बिष्णु माया परियार(मानार्थ विद्या वारिधि) लाई १ लाख १० हजार सहित प्रतिष्ठित मानवअधिकार पुरस्कार प्रदान गरिएको छ ।

डा परियारलाई बद्री पहाडी समाजसेवा पुरस्कार—२०८०’ बाट सम्मानित गरिएको हो । मानवअधिकार, सामाजिक न्याय र नागरिक सशक्तीकरण क्षेत्रमा परियारले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएकी छन् ।

मानवअधिकार तथा शान्ति समाजले हरेक वर्ष यो पुरस्कार दिन्छ। नेपालमा आयोजित समारोहमा परियारलाई नेपालकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विशेष समारोहमा प्रशंसापत्र र पुरस्कार हस्तान्तरण गरिन । समारोहमा उपसभामुख इन्दिरा रानामगर लगायत विशिष्ट व्यक्तिहरू सहभागी रहेका थिए ।

मानवअधिकार एवं सामाजिक न्यायका क्षेत्रका विशिष्ट योगदान पुर्‍याउनेलाई प्रत्येक वर्ष कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिँदै आएको शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले जानकारी दिए ।

स्मरण रहोस , डा परियारले बिगत अढाई दशक देखि दलित गरिव बालबालिका तथा महिलाको उत्थान र अधिकारका लागि काम गर्दै आएकी छिन् ।

उनले पुरस्कार प्राप्त गरे पछि सो रकम बालबालिका तथा महिलाको उत्थानमा खर्च गर्ने घोषणासमेत गरिन ।