आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?



देउखुरी (दाङ) । १६ वैशाख २०८१ को बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री आगो निभाउन गएका थिए । गाउँले सबै त्यहीँ थिए । छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो ।

घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो । छोराले गाडीको हेबी लाइसेन्स बनाउन भनेको थियो त्यो बुझाउनका लागि एक लाख ऋण गरेर ल्याएको पैसा र घरमा भएको २० हजार पैसा थियो त्यो पनि जल्यो । घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो ।

‘यस्तो होला भनेर हामीले सोचेका थिएनौँ । अहिले खुल्ला आकाशमा बस्नुपरेको छ,’ खत्रीले भने, ‘पाँच बोरा तोरी, मसुरो, चार क्विन्टल आलु थियो, सबै खरानी भयो ।’ घरमा भएको अन्नपात लत्ताकपडा, भाँडाकुँडा केही पनि झिक्न नपाएको उनले सुनाए । ‘शरीरका कपडाबाहेक केही बचेको छैन । कुखुराको खोर, गाईगोठ र बस्ने घर सबै जलेर आँखै अगाडि खरानी भयो । त्यही खरानीको थुप्रो हेरेर दिनरात कटाउँदै छौँ,’ उनले भने ।

सोही ठाउँकी लक्ष्मी भण्डारीको घर, गोठ, बाख्राको खोर र कुखुराको खोर जलेर खरानी भएको छ । ‘एक्कासि आगो घरमा आयो चारैतिरबाट घेरा हालेको आगोको रापले घरभित्र बस्न सकेनौँ बाहिर निस्कँदा घरभित्रको सामान सबै जल्यो सुत्ने खाट, दराज, टेबल सबै जलेर खरानी भयो,’ भण्डारीले भनिन्, ‘छवटा बाख्रा र पाँच सय कुखुरा पनि जलेर खरानी भए ।’ आगालागीले सबै जलेपछि केही सामग्री आए पनि पकाउनका लागि भाँडा नभएको उनी बताउँछिन् ।

सोही गाउँकी मिनीकुमारी बोहराको पाँच जनाको परिवार पनि खुल्ला आकाशमुनि बसेको छ । ‘अन्नपात, गोठ बाख्राको खोर सबै जल्यो । मान्छे कसरी सुरक्षित हुने भन्ने मात्रै सोच आयो सबै घरबाहिर रुवावासी गर्न थाल्यौँ । घर नजिकमा पानी पनि छैन केही पर बग्ने राप्तीमा तल झर्ने बाटो छैन त्यहाँबाट पानी ल्याउन सम्भव भएन । गाउँले सबैको घर छिनभरमै खरानी भयो । घर छेउमा रहेका रूखबिरुवा पनि जलेका छन्,’ उनले भनिन् ।

वडा नं ७ का अध्यक्ष पुस्कर वली घटनास्थलमै थिए । घटनाका बारेमा जानकारी प्राप्त हुने बित्तिकै आफू त्यहाँ पुगेको उनले बताए । स्थानीयवासीको उद्धारका लागि उनी लागिपरेका छन् । प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्न लागेका छन् । गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न नसकेको उनले बताए ।

नजिकै राप्ती नदी छ तर त्यहाँबाट पानी ल्याउन भाँडा नभएका कारण आगो नियन्त्रण हुन नसकेको अध्यक्ष वलीले बताए । आगलागीबाट २३ घर र एक सय १० जना प्रभावित भएका छन् । आगलागीस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू परिचालन भए पनि पर्याप्त पानीको स्रोत नहुँदा र भौगोलिक कठिनाइका कारण आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएको उनले बताए । गाउँको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । रूखहरु जलेर धुवाँ उडिरहेको छ ।

पानी र बत्तीको समस्या

गर्मी मौसम सुरु भएपछि जङ्गलमा आगो लाग्यो खानेपानीको पाइप सबै जल्यो । त्यसपछि हाडबासका स्थानीयलाई पानीको समस्या भयो । १ घण्टाको दूरीमा रहेको हाटबास खोलामा बालुवा खोस्रेर बनाइएको जरुवाबाट पानी ल्याएर जीविका चलाएको स्थानीय लक्ष्मी भण्डारीले बताइन् ।

१ घण्टाको उकाली ओराली गरेर ल्याएको पानीले जीविका चलेको छ भण्डारीले भनिन् । ‘आगलागी भएपछि गाउँमा बिजुलीबत्ती छैन । तीन दिन भयो, बत्ती नभएकाले मोबाइल फोन चार्ज गर्न पनि सकेका छैनौँ । सञ्चारविहीन भएका छौँ,’ उनी भन्छिन् ।

स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल

दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँवासीले आगलागीबाट ठूलो भौतिक क्षति व्यहोर्नु परेको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक समाज दाङले बसाइ व्यवस्थापन तथा खानपानमा ध्यान दिन अपिल गरेको छ ।

आगलागीका कारण २३ घरगोठ जल्दा दर्जनौँ चौपाया, पक्षी मर्नाका साथै अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर गाउँ नै खरानी भएको भन्दै समाजले अर्को व्यवस्था नभएसम्मका लागि सुरक्षित खानेपानीको सहज रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन पनि समाजले अपिल गरेको छ ।

८७ लाख ७५ हजार बराबरको क्षति

गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षतिको प्रारम्भिक अनुमान रहेको प्रवक्ता मल्लले जानकारी दिए । पीडितलाई राहतस्वरुप घोराहीमा रहेको मानव कल्याण तथा वातावारण संरक्षण केन्द्र र वडा कार्यालयले खाद्यान्नसहित चाउचाउ र बिस्कुट म्याट र त्रिपाल वितरण गरेको थियो ।