परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी समकक्षीबीच भेटवार्ता

परराष्ट्रमन्त्री श्रेष्ठ र जापानी समकक्षीबीच भेटवार्ता



काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी जापानकी परराष्ट्र मन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । आइतबार दिउँसो परराष्ट्र मन्त्री श्रेष्ठ र जापानकी परराष्ट्र मन्त्री योकोबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डल र जापानका विदेशमन्त्री योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।

भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उनले नेपाल र जापानबीचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको बताए । “दुबै प्रतिनिधिमण्डलबीच विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमणभएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे ।

परराष्ट्र मन्त्री योको आइतबार बिहान नेपाल भ्रमणमा आएकी थिइन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आइतबार नै स्वदेश फर्कने कार्यक्रम छ ।