अशोक राईको पार्टी निर्वाचन आयोगमा दर्ता

अशोक राईको पार्टी निर्वाचन आयोगमा दर्ता



काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालबाट विभाजित भई नयाँ पार्टी दर्ताका निम्ति आइतबार दिइएको निवेदनमाथि आयोगले सोमबार निर्णय गरेको हो ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जानकारी दिएकाे छ ।

राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरूले नयाँ दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम जनता समाजवादी पार्टी (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय गरेकाे हाे ।

आयोगले यो अभिलेखको विवरण संघीय संसद सचिवालय, सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि पठाउने निर्णयसमेत गरेको छ ।