संसदीय दल एकताबद्ध छ, फुटको हल्ला निराधार : एकीकृत समाजवादी

संसदीय दल एकताबद्ध छ, फुटको हल्ला निराधार : एकीकृत समाजवादी



काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीको भूमिका संसद्‌मा प्रभावकारी बनाउने निर्णय गरेको सांसद शेरबहादुर कुँवरले बैठकपछि बताए ।

‘अधिवेशनमा संसदीय भूमिका प्रभावकारी बनाउने र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका बारेमा सरकारलाई रचनात्मक सुझाव दिने निर्णय गरेको छ’, कुँवरको भनाइ छ । साथै बैठकले संसद् बैठकमा जनसरोकारका विषय सशक्त ढङ्गले उठान गर्दै कानुन निर्माण प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै एकीकृत समाजवादीले जसपा विभाजनपछि पार्टी फुटको हल्ला निराधार रहेको र सबै सांसदहरू कतै नगएको भन्दै पार्टी एक ढिक्का भएको ठहर गरेको छ । “संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिवद्धता व्यक्त गरेको छ,” प्रमुख सचेतक मेटमणि चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।