संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै, बैठक निष्कर्षविहीन

संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै, बैठक निष्कर्षविहीन



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान कायमै राखेकाे छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समितिको पुरानै माग कायम राखेकाे हो ।

छलफलमा आफूहरुले पुरानै अडान राखेको प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, ‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौं । सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ । राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं । सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौं ।’

उनले आगामी सदन चल्ने नचल्ने भन्ने कुरा सरकारको भूमिकामा निर्भर रहेन बताए । उनले भने, ‘सदन चल्ने नचल्ने सरकार कसरी प्रस्तुत हुन्छ भन्नेमा भर पर्छ । हामीले सरकारकाप्रति अविश्वास गरेका छैनौं । कोही नेता कानून भन्दामाथि छ भन्ने सोच बनाउँदैन । प्रश्न उठेपछि सरकार आफैंले छानबिन गर्नुपर्छ भन्ने पक्षमा पुग्छ ।’

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत प्रमुख दलका प्रमुख सचेतक र सचेतक सहभागी थिए ।