अदालत र आयोगका क्रियाकलाप नजिकबाट हेरिरहेको छु : सभापति देउवा

अदालत र आयोगका क्रियाकलाप नजिकबाट हेरिरहेको छु : सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगको कदमलाई नजिकबाट हेरिरहेको बताएका छन् । बुधबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा गण्डकी प्रदेशसभाका कांग्रेस सांसदहरूसँगको भेटवार्तामा देउवाले अदालत र आयोगका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका हुन् ।

गण्डकी प्रदेशसभामा एमालेका खगराज अधिकारीलाई सभामुखले समेत विश्वासको मत दिएर बहुमत पुर्‍याएको घटनाक्रमबारे जानकारी गराउन प्रदेश सांसदको टोलीले बिहान बुढानीलकण्ठ पुगेर देउवालाई भेटेको थियो ।

सभापति देउवाले प्रदेश सांसदहरुसँग भनेका थिए, ‘कम्युनिस्टहरु सत्ता कब्जाको शैलीमा छन् । तपाईंहरु कुरा बुझ्नुस् । सत्ता कब्जा गर्ने मनोविज्ञानसँग हामी लड्नुपर्नेछ । लड्न तयार हुनुस् ।’

निर्वाचन आयोगले जसपा नेपाल फुटाउन हतार गरेकोमा पनि देउवा रुष्ट देखिएका छन् । गण्डकी प्रदेशबारे सर्वोच्चको फैसला र जसपा नेपाल विभाजन गर्न निर्वाचन आयोगले गरेको हतार स्वाभाविक नभएकाे सभापति देउवाले बताएका थिए ।

सभापति देउवाले सहकारी प्रकरणको विषयमा पनि कुरा राखेका थिए । शीर्ष तहका हिजो भएको छलफलमा आफूले राखेका धारणा प्रदेश सांसदलाई देउवाले सुनाएका थिए ।